सरकारले स्विजरल्यान्डबाट ८६ करोड रुपैयाँ अनुदान लिने

जेठ ९, काठमाडौँ । मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीबाट फर्केकाहरुको पुनः एकीकरण आयोजनाका लागि स्विजरल्यान्ड सरकारबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले मन्त्रिपरिषद् बैठकले उक्त रुपैयाँ अनुदान लिने निर्णय गरेको बताएका हुन् ।

त्यस्तै, विश्व बैङ्कबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिब ३३ अर्ब रुपैयाँ ऋण सहायता लिनेबारे वार्ता टोली गठन गरेको छ ।

यस्तै बैठकले स्थानीय तहको निर्वाचन एकैचरणमा सफलतापूर्वक सम्पन्न गर्ने निर्वाचन आयोग, मतदाता र राजनीतिक दलहरूलाई धन्यवाद दिएको छ ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले आ–आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने राजनीतिक दल, मतदाता, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सञ्चार माध्यमसहित सबैलाई धन्यवाद दिने निर्णय भएको बताए ।