आचारसंहिता कार्यान्वयनबारे आयोगले दलहरूसँग छलफल गर्दै

चैत्र २०, काठमाडौँ । निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तहको चुनावका आचारसंहिता कार्यान्वयनबारे दलहरूसँग छलफल गर्ने भएको छ।

स्थानीय चुनावका लागि दल दर्ताको निवेदन दिएका दलहरूलाई आयोगले छलफलका लागि बोलाएको हो।

चैत २२ गते मङ्गलवार दलहरूका प्रतिनिधिसँग आयोगले आचारसंहिताबारे प्रतिबद्धता लिन लागेको छ।

आयोगले वैशाख ३० मा हुन गइरहेको निर्वाचनका लागि स्थानीय चुनावमा भाग लिने ७९ दलका प्रतिनिधिसँग छलफल गरेर आचारसंहिता पालनाको लागि प्रतिबद्धता लिइने आयोगको भनाइ छ।

गत चैत ३ मै निर्वाचन आचारसंहिता स्वीकृत भई राजपत्रमा समेत प्रकाशित भइसकेको छ।