पुस मसान्तसम्म १४ बैंक परे राष्ट्र बैंकको कारवाहीमा

चैत २, काठमाडौं । नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले पुस मसान्तसम्ममा १४ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ ।

कारबाहीमा पर्ने बैंकमा प्रभु बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई र नेपाल बंगलादेश बैंक रहेका छन् ।

यसैगरी, एनसीसी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक, सेञ्चुरी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंक पनि कारवाहीमा परेका छन् ।

 यसमध्ये, प्रभु बैंकलाई अनिवार्य नगद मौज्दात वैधानिक तरलता अनुपात कायम नगरेका कारण १ लाख ८० हजार ३४० रुपैयाँ जरिवाना गरेको छ ।

नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक र सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृतहरु (सीइओ) लाई केन्द्रीय बैंकले सचेत गराएको छ ।  यी बैंकहरुले बोलकबोलका आधारमा संकलन हुने मुद्दति निक्षेपको हकमा प्रकाशित ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न नपाइने व्यवस्था उल्लंघन गरेका थिए ।

नेपाल बैंकले भने एटलस इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनीको खाता रोक्का राख्न दिइएको निर्देशन पनि पालना गरेको थिएन ।

यता, स्टान्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंकले कुल निक्षेप बाहेकका ब्याज प्रदान गरिने निक्षेप खाताहरुमा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर ५% विन्दुभन्दा बढीले फरक गर्न नपाइने व्यवस्था उल्लघंन गरेपछि यी बैंकका सीइओहरुलाई पनि केन्द्रीय बैंकले सचेत गराएको छ ।