वैशाख १० सम्म पूर्ण खोपको व्यवस्था गर्न सरकारलाई निर्वाचन आयोगको निर्देशन

फागुन १७, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय चुनावका लागि वैशाख १० सम्म कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगको सोमबार बसेको बैठकले वैशाख ३० मा हुन लागेको स्थानीय चुनावलाई ध्यानमा राखेर यस्तो निर्देशन दिने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५९.९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने पहिलो मात्र लगाउनेको सङ्ख्या कुल जनसङ्ख्याको ७३.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । अहिले बुस्टर जोड लगाउने क्रमसमेत चलिरहेको छ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि ८० वटा राजनीतिक दलले आयोगमा निवेदन दिएको जनाएको छ ।