प्रक्रियामा सहभागी हुने अवसरबाट वञ्चित भयौँ : सुवास नेम्वाङ  

फागुन १५, काठमाडौँ । नेकपा एमालेले आइतबारको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राख्ने भएको छ ।

सत्ता गठबन्धनको बैठकले व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । तर एमसीसी अनुमोदनका लागि हुने संसदीय प्रक्रियामा सहभागी हुने वातावरण सत्ता गठबन्धनले नबनाएका कारण एमालेले अवरोध जारी राख्ने संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

‘हामीले प्रमुख सत्ता साझेदार दल काङ्ग्रेससँग संवाद पनि गरेका हौ नेम्वाङले भने, ‘तर प्रतिनिधिसभाको अवरोध खोल्न हामीले राखेको मागमा उहाँहरू सकारात्मक हुनुभएन, हामी प्रक्रियामा सहभागी हुने अवसरबाट वञ्चित भयौँ ।’

एमाले प्रक्रियामा सहभागी नहुने भएपछि सत्तारुढ दललाई एमसीसी अनुमोदन गराउन झन् सहज हुने छ । यसअघि आइतबार बिहान सत्ता साझेदार दलले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेका थिए ।