एमसीसीविरुद्ध आज पनि विरोध प्रदर्शन

फागुन १३, काठमाडौं  । शुक्रवार अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध विभिन्न राजनीति दलहरूले प्रदर्शन गरिरहेका छन् ।

दलहरूले अधिकांश विरोध कार्यक्रम काठमाडौँको माइतीघरदेखि कोटेश्वरसम्म राखेका छन् । ठाउँको अभाव हुँदा एउटै स्थानमा पार्टीका कार्यक्रमहरू जुधेका छन् । एमसीसीविरुद्ध विरोध प्रदर्शनको आयोजना गर्नेमा सत्तारुढ दलदेखि साना दलसम्म रहेका छन् । विरोध प्रदर्शन गर्नेहरूले आज बानेश्वरस्थित प्रतिनिधिसभा भवनलाई तीन तिरबाट घेर्ने तयारी गरेका छन् । 

शुक्रवार एमसीसी विरुद्ध प्रदर्शनको कार्यक्रम राख्नेमा नेकपा (माओवादी केन्द्र), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपालका लागि नेपाली पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चा, नेकपा (माले), एमसीसी खारेज अभियान नेपाल लगायत २२ राजनीतिक दल तथा अभियान, संयुक्त जनआन्दोलन नेपाल, नेकपा (एकीकृत समाजवादी) आबद्ध जनसङ्गठन र  नेकपा (माओवादी) रहेका छन् ।