युक्रेनसँग युद्ध नगर्न भन्दै रूसमा प्रदर्शन

रुसले छिमेकी युक्रेनमाथि आक्रमण थालेपछि बिहीबार रूसमा युद्धविरोधी प्रदर्शन भएका छन्। रसिया टुडेका अनुसार राजधानी मस्कोमा हजारौं मानिसहरूले युद्ध चाहिँदैन भन्दै प्रदर्शन गरेका थिए। 

उनीहरूले युद्व गर्न नहुने नारा लगाएका थिए। प्रदर्शनकारीहरूले ‘लडाइँ रोक’,  ‘युद्ध चाहिँदैन’, ‘युक्रेन हाम्रो शत्रु होइन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। 

मस्कोसँगै सेन्ट पिटर्सबर्गलगायत अरू साना सहरहरूमा पनि प्रदर्शनहरू भएका थिए।  प्रहरीले सयौं प्रदर्शनकारीलाई पक्राउ गरेको छ। 

मस्को प्रहरीले मात्रै ६ सय जनालाई पक्राउ गरेको जनाएको छ। प्रदर्शनकारीहरूले कोभिड-१९ रोक्न लगाइएका प्रतिबन्ध उल्लंघन गरेको प्रहरीको भनाइ छ। 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनविरूद्ध सैन्य कारबाही घोषणा गरेका थिए। पुटिनको उक्त घोषणापछि युक्रेनको राजधानी किएभलगायत विभिन्न ठाउँमा रूसी सैनिकले आक्रमण गरेका छन्। 

सानो छिमेकी युक्रेनमाथि आक्रमण गर्ने पुटिनको कदमको संसारका धेरै मुलुकले आलोचना गरेका छन्।