घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ भन्ने नारासहित काँग्रेसले एक महिने चुनावी अभियान चलाउने

फागुन ३, काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी देशव्यापी सङ्गठन सुदृढीकरण अभियान चलाउने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालयमा मंगलबार बसेको कार्यसम्पादन समितिले चुनाव लक्षित एक महिने सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले फागुन २० देखि चैत्र २० गतेसम्म सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

‘बैठकले स्थानीय तह निर्वाचनको स्वागत गरेको छ । साथै सम्पूर्ण एकताका साथ स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ,’ महतले भने ।

प्रवक्ता महतका अनुसार ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ भन्ने नारासहित अभियान सञ्चालन हुनेछ ।

बैठकले स्थानीय तह निर्वाचन लक्षित समितिहरू गठन गर्ने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ ।