विद्यालय समयमा पढाउन छाडेर आयोगको तयारी नगर्न निर्देशन

फागुन ३, काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका शिक्षकहरुलाई विद्यालय समयमा पढाउन छाडेर आयोगको तयारी नगर्न निर्देशन दिएको छ ।

निर्देशक वसन्तप्रसाद कोइरालाले विद्यालय समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग लगायतका तयारी कक्षा, कोचिङ कक्षामा पढ्ने, पढाउने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य विद्यालय समयमा नगर्न निर्देशन दिएका हुन् ।

यदि त्यस्तो गरिएमा शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को प्रावधान विपरीत भई विभागीय सजाय आकर्षित हुनेसमेत केन्द्रले चेतावनी दिएको छ ।

स्थानीय तहमार्फत सबै शिक्षकहरुलाई निर्देशन दिन र इकाई मार्फत नियमित अनुगमनको व्यवस्था समेत मिलाउनसमेत केन्द्रले अनुरोध गरेको छ ।