‘ए’ डिभिजन लिगमा आज तीन खेल

माघ २९, काठमाडौं । नेपाल पुलिस क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीचको खेल एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १ बजे हुनेछ ।

पुलिस ९ खेलबाट १० अंक जोडेर १०औं स्थानमा रहेको छ । सातदोबाटोलाई हराउन सके पुलिस सातौ स्थानमा उक्लेछ । 

सातदोबाटो ९ खेलबाट १२ अंक जोडेर सातौ स्थानमा रहेको छ । पुलिसलाई हराउन सके सातदोबाटो कम्तीमा एक दिनको लागि पाँचौ स्थानमा उक्लनेछ ।

यस्तै लिग लिडर मछिन्द्र फुटबल क्लबले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबसँग दशरथ रंगशालामा दिउँसो १ बजे खेल्नेछ । मछिन्द्र ९ खेलबाट २३ अंक जोडेर शीर्ष स्थानमा छ । 

च्यासल ५ अंक जोडेर पुछारमा रहेको छ । च्यासलले ६ हार भोगिसकेको छ । 

आजै घरेलु फुटबलको ‘एल क्लासिको’ मा दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लब र रुस्लान थ्री स्टारबीचको खेल दिउँसो ४:४५ बजे हुनेछ । कीर्तिमानी आठ पटकको लिग च्याम्पियन मनाङलाई यसपटक उपाधि होडमा रहन यो खेल निकै महत्वपूर्ण छ । बराबरी वा हारको नतिजाले मनाङलाई उपाधि होडमा रहन चुनौती बन्नेछ । 

मनाङ ९ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मनाङको बराबरी या हारले मछिन्द्रको उपाधि यात्रालाई फाइदा पुग्न सक्छ । 

मनाङलाई हराउन सके थ्री स्टारले मनाङसँगको अंक बराबरी गर्नेछ । थ्रीस्टार ९ खेलबाट १६ अंक जोडेर चौथो स्थानमा रहेको छ ।