आजदेखि विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइने

माघ १६, काठमाडौं । आजदेखि पाँच दिनसम्म विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ ।

देशभरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि खोप लगाउने प्रयोजनका लागि विद्यालय खुल्ने छन् ।

काठमाडौं महानगरपालिकाले विद्यालय खोप अभियान सञ्चालन भइरहेकाले खोप लगाउन छुटेका विद्यार्थीको विवरण अद्यावधि गरेर विद्यालय वा नजिकैको खोप केन्द्रमा खोप लगाउन निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई माघदेखि २० सम्म विद्यालयमै खोपको व्यवस्था गर्न निर्देशन दिएको थियो । सोही अनुसार स्थानीय तहले सूचना जारी गर्दै खोप लगाउन आह्वान गरेका छन् ।

१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोप दिइँदै आइएको छ । यसअघि २७ पुसदेखि १५ माघसम्म सबै विद्यालय बन्दको निर्णय भएकामा लम्ब्याएर माघ मसान्तसम्म कायम गरिएको छ ।