नेयमार प्रशिक्षणमा फर्किए, रियल म्याड्रिडविरुद्ध खेल्ने सम्भावना

नेयमार चोटका कारण झन्डै दुई महिना बाहिर रहेका थिए । गत २८ नोभेम्बरमा सेन्ट इटेन्नीविरुद्ध ३–१ को जित निकालेको खेलमा नेयमारले चोट बोक्न पुगेका थिए । त्यसयता उनी मैदान बाहिर रहँदा पिएसजीको १० खेल गुमाएका थिए ।

‘नेयमारले प्रशिक्षणमा सहभागिता जनाउँदै पुनः दौडन सुरु गरेका छन् ।’ बुधबार पिएसजीले भनेको छ, ‘यससँगै नेयमार चोटमुक्त भएका छन् । अब, चाँडै नै प्रतिस्पर्धामा उत्रने छन् ।’ केही दिनअघि मुख्य प्रशिक्षक मौरिसियो पोचेटिन्होले फरवार्ड नेयमार पूर्ण रूपमा निको भएको जनाएका थिए ।

अब, उनी रियल मड्रिडसँगको खेलबाट मेदान फर्किने सम्भावना छ । पिएसजीले च्याम्पियन्स लिगअन्तर्गत प्रि–क्वाटरफाइनलमा स्पेनिस क्लब रियल म्याड्रिडको सामना गर्नेछ । रियलसँगको पहिलो लेगमै उनी मैदान फर्किनेमा पोचेटिन्हो विश्वस्त छन् । पिएसजी र रियलको पहिलो लेगको खेल १५ फेब्रुअरीमा पेरिसमा हुनेछ ।

अभ्यासमा फर्किएको नेयमार ब्राजिलको विश्वकप छनोट खेल्ने टोलीमा समावेश छैनन् । ब्राजिली प्रशिक्षक टिटेले नेयमारको स्थानमा फिलिपे कौटिन्होलाई टोलीमा समावेश गरेको छ । कौटिन्हो २०२० अक्टोवरपछि ब्राजिली टोलीमा पूनरागमन गरेका हुन् । 

ब्राजिलले शुक्रबार दक्षिण अमेरिकी विश्वकप छनोटअन्तर्गत इमवेडरसँग खेल्दै छ । छनोटमा शीर्षस्थानमा रहेको ब्राजिल कतारमा यसैवर्ष आयोजना हुने विश्वकपमा छनोट भइसकेको छ । एजेन्सी