निर्वाचनबारे आन्तरिक छलफलमै छौँ- मन्त्री कार्की

माघ १२, काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचनबारे सरकार आन्तरिक छलफलमै रहेको बताएका छन् ।

सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले आवधिक निर्वाचनप्रति सरकार जिम्मेवार रहेको भन्दै संविधान बमोजिम समयमै निर्वाचन हुने बताए ।

मन्त्री कार्कीले संविधानमा रहेको व्यवस्था प्रतिकुल भएका ऐन संशोधन गरी एकरुपता ल्याउन कानुनविदहरुले सुझाव दिएको समेत बताए ।

उनले निर्वाचनजस्तो राष्ट्रिय विषयलाई प्रमुख प्रतिपक्षी दलले राजनीतिक खपतको विषय बनाएको आरोप समेत लगाए । ‘निर्वाचन राष्ट्रिय सरोकारको विषय हो । प्रमुख प्रतिपक्षले राजनीति गर्नकै लागि निर्वाचनबारे जनतालाई भ्रममा पार्नु जरुरी छैन । सरकारले संविधान अनुसार सबै निर्वाचन सम्पन्न गर्ने उनले बताए ।

उनले संसदको गतिरोध हटाउन सरकारले पर्याप्त पहल गरे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जिम्मेवार नदेखिएको बताए । ‘संसदलाई प्रभावकारी बनाउने दायित्व सरकारसँगै प्रमुख प्रतिपक्षी दलको पनि हो’, उनले भने ।