सिटामोल लगायतका औषधीको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

५ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजारमा सिटामोल लगायतका औषधीको अभाव भएको जानकारी आएको भन्दै त्यस्तो अभाव तत्काल अन्त्य गर्ने गृह मन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका छन् । 


आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गृह मन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकरदाश बैरागीलाई बोलाएर औषधी अभावका विषयमा के भएको अध्ययन गरेर तत्काल औषधी उपलब्ध गराउने प्रबन्ध गर्न निर्देशन दिएका थिए । त्यस लगत्तै गृहमन्त्री र मुख्यसचिवले स्वास्थ्य मन्त्रालय, औषधी व्यवस्था विभाग लगायत औषधी उत्पादक कम्पनीहरूसँग पनि परामर्श गरेको थियो । औषधीको अभाव नहुने गरी अघि बढ्न औषधी उत्पादकहरु तयार भएका छन् । यदि कसैले औषधीको कृत्रिम अभाव सृजना गरेको पाएका तत्काल कारबाही गर्ने गरी निर्देशन गएको छ ।