अबको एक महिना ओमिक्रोनबाट कठिन

माघ ४, काठमाडौँ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट नेपालले अबको एक महिना कठिन अवस्था झेल्नुपर्ने प्रक्षेपण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रक्षेपण अनुसार माघ दोस्रो साता दैनिक सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या उच्च बिन्दुमा पुगेसँगै दैनिक २० हजार हाराहारीमा सङ्क्रमण पुष्टि हुन सक्ने अनुमान गरिएको छ ।

उक्त समयमा लक्षणसहितको सङ्क्रमित करिब १० हजार हुनेछन् भने १ हजार बढीलाई अस्पताल भर्ना गर्नुपर्ने हुनसक्ने अनुमान छ ।

अस्पतालमा सबैभन्दा बढी चाप माघ तेस्रो साता हुने मन्त्रालयको प्रक्षेपण छ । सो समयमा अस्पतालमा उपचाररत सङ्क्रमितको सङ्ख्या झन्डै १४ हजारसम्म पुग्न सक्ने आङ्कलन गरिएको छ।

ठुलो सङ्ख्यामा स्वास्थ्यकर्मी सङ्क्रमित भएकाले अस्पतालको सेवा प्रवाहमासमेत समस्या हुन सक्ने देखिएको छ । उपत्यकाका ठुला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सङ्क्रमित हुने सङ्ख्या दिन दिनै बढ्दै जाँदा जनशक्ति अभाव हुन सक्ने देखिन्छ ।