कोभिड संक्रमितको एकै दिन १० हजार बढी

माघ ४, काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको मंगलबार जानकारी दिएको हो । 
मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको जनाएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ।  

हालसम्म पीसीआर विधिबाट भएको कोरोना परीक्षणमा ८ लाख ६८ हजार २१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३ हजार ९८३ जनामा संक्रमण पुष्टि भएको छ।  संक्रमितमध्ये ८ लाख १७ हजार ५४७ जना निको हुँदा कुल ११ हजार ६२४ जनाको मृत्यु भएको छ । 
यसैबीच पछिल्लो २४ घण्टामा २ लाख १३ हजार १४८ जनाले खोप लगाएका छन् ।