एयरहोस्टेसको मायामा कप्तान किरण, गर्दैछन् बिहे

नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणकुमार लिम्बुले प्रेमिका कञ्चन निरौलासँग विवाह गर्ने भएका छन्। उनीहरूको विवाह भोलि बुधबार काठमाडौंमा हुन लागेको हो।

यसअघि सोमबार मेहेन्दी कार्यक्रम भएको छ।

यसअघि गत असार २१ गते किरणले कञ्चनलाई माल्दिभ्समा विवाह प्रस्ताव राखेका थिए।

माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल लिगलाई अविस्मरणीय बनाउने क्रममा किरणले लिगकै सर्वोत्कृष्ट गोलिकपर घोषित भए लगत्तै कञ्चनलाई विवाह प्रस्ताव राखेका थिए।

उनी आबद्ध क्लब माजियाका खेलाडीले लिगको ट्रफी उचालेर खुसी मनाइरहँदा उनले आफ्नी प्रेमिकालाई हातमा समातेर मैदानमै लगेका थिए।

त्यसपछि किरणले मैदानमै प्रेमिका कञ्चनलाई सबै सहकर्मीका अघि औंठी लगाइदिएर विवाह प्रस्ताव राखेका थिए।

कञ्चन पेशाले एयरहोस्टेस हुन्। केही वर्षदेखि प्रेममा रहेका उनीहरूको भदौ १५ मा विवाह गर्न लागेका हुन्।

विवाह प्रस्ताव राखेपछि किरण र कञ्चनले दुई साता माल्दिभ्समा बिदा मनाएका थिए। उनीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेको फोटोमा बिदामा दुवैका आमा पनि साथमा रहेको देखिएको थियो।