पुस ३०, काठमाडौं । काभ्रेको पनौतिस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण पि्रन्टिङ प्रेसको बिहीबार निरीक्षण गर्दै अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क ‘स्टिकर’को सुरक्षित मुद्रण नेपालमै गर्न र मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिएका छन् ।

‘हामीलाई करिब ३ अर्ब पिस स्टिकर चाहिँदो रहेछ । त्यो स्टिकर छाप्न यस्ता मेसिन कति चाहिन्छन्, तत्काल ल्याएर जडान गर्न आग्रह गर्दै कमसेकम अर्थ मन्त्रालयलाई आवश्यक पर्ने स्टिकर उपलब्ध गराउन अनुरोध गरे ।
आफूले सुरक्षण पि्रन्टिङ प्रेसमा नाफा मात्रै देखेको भन्दै मन्त्री शर्माले यसको लागि सरकार लगानी गर्न नहिच्किचाउने बताए । ‘धेरै ठूलो व्यापार गर्न सक्ने भएकाले यसमा गर्ने लगानी नाफाका लागि हो’, उनले भने, ‘यहाँ मैले घाटा देखिन । नाफा मात्रै हुने ठाउँमा लगानी गर्न सरकारले पनि हिच्किचाउनुपर्छ जस्तो मलाई लाग्दैन ।’
उनले नेपालमा कुनै पनि हालतमा चोरी नहुने तथा नक्कली स्टिकर बनाउन नमिल्ने स्तरको सुरक्षित स्टिकर छाप्नुपर्ने समेत बताए ।

प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षण मुद्रण केन्द्र राज्यले सञ्चालन गरेका संस्थामध्ये उदाहरणीय संस्था बन्नसक्ने बताए । ‘यसले नमुनाको रूपमा काम गरोस्’, उनले भने, ‘भोलि गएर सरकारले चलाएको उद्योग पनि राम्रो चल्छ, राम्रो हुँदो रहेछ भन्ने कुरा यसले देखाउन सकोस् ।’ नेपाल जस्तो मुलुकमा धेरै राजस्व छली हुने गरेको भन्दै उनले सुरक्षण मुद्रणबाट त्यसलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिने बताए । उनले प्रेसमा धेरै लगानी आवश्यक हुने देखिएको भन्दै सरकारले बिस्तारै तह-तह गरेर लगानी थप्दै लैजानुपर्ने बताए ।

हाल स्टिकर छाप्ने काम जनक शिक्षा सामग्री केन्द्रले गर्दै आएको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार दुई वर्षदेखि जनक शिक्षाले करिब २२ करोडमा स्टिकर छाप्दै आएको छ । यसअघि ‘ग्लोबल टेन्डर’ मार्फत् स्टिकर छापिँदै आएको थियो ।