चार वर्षमा संविधानमाथि पटक-पटक आक्रमण पुर्वराष्ट्रपति यादव

२४ पुस, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको चार वर्षमा संविधानमाथि पटक पटक आक्रमण भएको बताएका छन् ।

संविधान जारी भएपछि कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका जस्ता संस्थालाई मजबुत बनाउनुपर्नेमा झन् कमजोर बनाइएको पनि पूर्वराष्ट्रपति यादवले टिप्पणी गरे । अहिले पनि न्यायपालिका र संसद ठीक ढंगले चल्न नसकेको भन्दै उनले यसका लागि राष्ट्रपति, प्रधानमन्त्री, राजनीतिक दलका नेताहरु सबैले आआफ्नो भूमिका ख्याल गर्नुपर्ने बताए ।

चन्द्रदेव जोशीद्वारा लिखित पुस्तक ‘माक्र्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ को शनिबार काठमाडौंमा विमोचन गर्दै उनले पछिल्लो एक वर्षमा संविधानमाथि दुई पटक आक्रमण भएको बताए ।

उनले गत वर्ष राष्ट्रपति र प्रधानमन्त्री मिलेर नै संविधान खत्तम पार्न खोजेको पनि आरोप लगाए । ‘यो संविधानमाथि बारम्बार आक्रमण भईराखेको छ, यो चार वर्षमा । त्यसमा पनि एक वर्षदेखि २÷२ चोटि संविधानमाथि आक्रमण भएको छ । सदनमाथि आक्रमण भएको छ । प्रधानमन्त्री, राष्ट्रपतिलगायत मिलेर नै यसलाई खत्तम गर्न खोजे’ उनले भने ।

प्रतिनिधिसभा राष्ट्रको सम्पूर्ण समस्याको समाधान गर्ने थलो भएकाले त्यसलाई बन्धक बनाएर राख्न नहुने र त्यसका लागि राष्ट्रपति सरकार प्रमुख नागरिक समाजले आ-आफ्नो कर्तव्य बोध गर्नुपर्ने समेत उनले बताए ।