१६ महिनापछि परीक्षणका लागि रेल शनिबार गुडाइयो

धनुषाको इनर्वास्थित रेल्वे स्टेशनमा १६ महिनादेखि थन्क्याइएको नेपाली रेल शनिबार परीक्षणका लागि गुडाइएको छ । भारतबाट १४ जनाको प्राविधिक टोली बोलाएर रेलको परीक्षण गर्न लागिएको छ ।

२०७७ असोज २ गते जनकपुर ल्याइएको रेल ३ गतेदेखि इनर्वा स्टेशनमा पार्किङ गरी राखिएको छ । लामो समयसम्म पार्किङ गरेर राखिएका कारण रेलको पार्टपूर्जाको अवस्थाबारे बुझ्न परीक्षण गरिएको छ । भारतबाट ल्याएदेखि नै रेललाई त्रिपालले छोपेर राखिएको थियो ।

बर्षाको पानीले भिजेर रेलका केही भागमा खिया लाग्न थालेको अवस्थामा रेल गुडाएर परीक्षण गरिएको छ । जनकपुर जयनगर रुटमा रेल सञ्चालन गर्नका लागि गत बर्ष नेपाल सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा भारतबाट रेल खरीद गरेर ल्याएको थियो ।

नेपाल रेल्वे कम्पनीका अनुसार रेल १६०० एचपी डेमुको हो । रेलको अगाडि र पछाडि इन्जिन रहेको छ । एउटा रेलमा ५ वटा डिब्बा रहेका छन् । एउटा ड्राइभिङ पावर कार, एउटा ड्राइभिङ ट्रेलर कार, २ वटा जेनरल ट्रेलर कार र एउटा एसी ट्रेलर कार रहेको छ ।

भारतको जयनगरदेखि नेपालको जनकपुर, सीतापुर भंगहा हुँदै बर्दिवाससम्म संचालनका लागि रेल खरि गरिएको भएपनि ट्रयाक तयार भएको जयनगरदेखि कुर्थासम्मको ३४ किलोमिटरमा पनि रेल सञ्चालन हुन सकेको छैन ।