सत्तारुढ गठबन्धन बैठक

पुस २३, काठमाडौँ । सत्तारुढ गठबन्धनले संसदको अवरोध हटाउने विषयमा नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओलीसँग निर्णायक संवाद गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँगै भेटेरै समस्या समाधान गर्न प्रधानमन्त्री देउवालाई सुझाब दिएको हो ।

गठबन्धनका संयोजक एवं काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन नमिल्ने भएकोले संवादबाट समाधान खोज्न प्रयास गरिएको बताए |

बैठकमा प्रधानमन्त्री देउवा, संयोजक पौडेलसहित, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित थिए ।