रुपन्देहीमा एमाले अध्यक्षमा ७ जना आकांक्षी

नेकपा (एमाले) रुपन्देहीको नवौं जिल्ला अधिवेशनमा नेतृत्वका लागि आधा दर्जन बढी नेता आकांक्षी रहेका छन् ।

जिल्ला अध्यक्षका लागि हालका उपाध्यक्ष पुरुषोत्तम घिमिरे, जिल्ला सदस्य तेजेन्द्र केसी, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, जिल्ला उपसचिव गोपाल राना, नेताहरु बलबहादुर आचार्य, हितराज पन्थी र यज्ञ गैरेले नेतृत्वमा आउन आन्तरिक गृहकार्य गरिरहेका छन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, खिमलाल भट्टराई लगायतका नेताहरुको गृह जिल्ला भएकाले आकांक्षीहरु आ–आफ्नो पक्षमा माहोल बनाउन लबिङ गरिरहेका छन् ।

एमाले रुपन्देहीको अधिवेशन शुक्रबार र शनिबार भैरहवाको गणतान्त्रिक सभागृहमा हुँदैछ । अधिवेशनमा एमाले उपाध्यक्ष पौडेल, सचिव विश्वकर्मा, स्थायी कमिटी सदस्य भुसाल, खिमलाल भट्टराई लगायतका नेताहरु रुपन्देहीमै छन् ।  नेताहरु सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने पक्षमा छन् । तर आकांक्षी धेरै भएपछि कसको नाममा सहमति जुटाउने भन्ने गाह्रो भएको छ । सात जनाले दावी गरे पनि मुख्यतः हालका उपाध्यक्ष घिमिरे र नेता केसीबीच अध्यक्षका लागि रस्साकस्सी हुने एमाले नेताहरुको अनुमान छ ।

घिमिरे आठौं अधिवेशनमा पनि अध्यक्षको उम्मेदवार थिए । तर तत्कालीन उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, जिल्ला इन्चार्ज लिला गिरी लगायतका नेताहरुले नवौं अधिवेशनमा अध्यक्ष बनाउने प्रतिवद्धता जनाएको हुँदा आफू उपाध्यक्षमा बसेकाले अहिले नेताहरुले आफ्नो वचन पूरा गर्नुपर्ने उनी बताउँछन् । आफू २०४७ सालदेखि एमाले जिल्ला कमिटीमा रहेको भन्दै घिमिरेले अन्य आकांक्षीहरु आफूभन्दा एक दशकपछि जिल्ला कमिटीमा आएकाले आफूलाई यसपटक पनि अध्यक्ष बन्न नदिए अन्याय हुने बताए । ‘नेताहरुले गरेको प्रतिवद्धता अनुसार म निर्विकल्प अध्यक्ष हुनुपर्ने हो,’ घिमिरेले भने, ‘पार्टी एकतावद्ध भएको सन्देश दिन र कसैलाई अन्याय हुँदैन भन्ने प्रमाणित गर्न मेरो दावीमा सहमति हुन्छ भन्ने विश्वास छ ।’