पाकिस्तानमाथि भारतको रोमाञ्चक जित

एसिया कप टी-२० क्रिकेट प्रतियोगितअन्तर्गत आइतबार राति भएको समूह ‘ए’ को बहुप्रतिक्षित भिडन्तमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ।

दुबईमा भएको खेलमा पाकिस्तानले दिएको १४८ रनको लक्ष्य भारतले २ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पार गर्‍यो।

भारतका ओपनिङ ब्याट्सम्यान केएल राहुललाई पाकिस्तानका  नीशम शाहले शून्यमा पहिलो ओभरमै बोल्ड गरेका थिए।

कप्तान रोहित शर्मा १२ रनमा आउट हुँदा विराट कोहलीले ३५ रन बटुले। कोहलीले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए। रोहित र विराट दुवैलाई पाकिस्तानका मोहमद नवाजले क्याच गराएका थिए।

त्यसपछि सूर्यकुमार यादव २१ बलमा २४ रन बनाएर आउट भए।  रविन्द्र जडेजा र हार्दिक पाण्ड्याबीच पाँचौ विकेटका लागि ५२ रनको साझेदारी भएको थियो। 

जडेजा अन्तिम ओभरको पहिलो बलमा ३५ रनमा आउट भए। उनले २९ बलमा २ चौका र २ छक्का प्रहार गरे।

विजयी छक्का प्रहार गरेका पाण्ड्याले नटआउट ३३ रन जोडे। उनले १७ बलमा ४ चौका र १ छक्का हिर्काए।

बलिङमा पाकिस्तानका नवाजले तीन विकेट लिए भने डेब्यू खेलाडी नीशमले दुई विकेट लिन सफल भए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १ बल खेल्न बाँकी छदा १४७ रनमा अलआउट भयो।

पाकिस्तानका लागि ओपनर मोहमद रिजवानले सबैभन्दा बढी ४३ रन जोडेका थिए। उनले ४२ बलमा ४ चौका र १ छक्का हिर्काएका थिए।

अर्का ओपनिङ ब्याट्सम्यान तथा कप्तान बाबर अजाम १० रन तथा फखर जमान पनि १० रनमै आउट भएका थिए।

इफ्तिखर अहमेदले २२ बलमा २८ रन जोडे भने खुस्दील शाह २ रनमै आउट भएका थिए। शादब खान १० रन, असिफ अली ९ रन र मोहमद नावज १ रनमा आउट भए।

हरिस राउफले ७ बलमा नटआउट १३ रन जोड्दा शाहनवाज दहनीले ६ बलमा १६ रन जोडेका थिए।

बलिङमा भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चिए। हार्दिक पाण्ड्याले ३ विकेट हात पार्दा  अर्शदीप सिंहले २ विकेट लिन सफल भए।