गैरआवासीय नेपाली संघका अध्यक्ष आचार्यलाई सुप्रबल जनसेवाश्री पदक


काठमाडौं। गैरआवासीय नेपाल संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष कुल आचार्यले सुप्रबल जनसेवाश्री पदक पाउने भएका छन्।

गृह मन्त्रालयले संविधान दिवसका अवसरमा मानपदवी, अलङ्कार र पदक पाउनेको व्यक्तिको नाम सार्वजनिक गर्दा आचार्यलाई सुप्रबल जनसेवाश्री पदकका लागि सिफारिस गरिएको छ। पदक वैशाखमा राष्ट्रपतिबाट प्रदान गरिनेछ।

व्यवसायी आचार्य गत वर्ष एनआरएनएको अध्यक्षमा निर्वाचित भएका थिए। उनी एनआरएनए यूकेमा सन् २०११ देखि २०१३ मा अध्यक्ष रहेका थिए।

उनले त्यसपछि आइसीसी युरोप संयोजक र उपाध्यक्षको रुपमा एक-एक कार्यकाल काम गरेका थिए। युकेबाट एनआरएनको अध्यक्षमा निर्वाचित हुने आचार्य पहिलो हुन्।

अध्यक्ष आचार्य सामाजिक अभियन्ता समेत हुन्। गैरआवासीय नेपालीको अधिकारका सवालमा अन्तर्राष्ट्रिय मञ्चहरुमा सशक्त ढंगले आवाज उठाउने प्रखरवक्ताको रुपमा उनी परिचित छन्।

उनले गैरआवासीय नेपाली नागरिकताका लागि पनि विशेष आवाज उठाएका थिए। नागरिकता ऐन संशोधनका लागि उनले गैरआवासीय नेपालीलाई पनि समेट्नका लागि सम्बन्धित स्थानमा आवाज उठाएका थिए।

उनी ब्रिटिस गोर्खाका सवालदेखि विपदमा परेका प्रवासी नेपालीहरुको सहयोगार्थ अगाडी अग्रसर भएर काम गर्ने गर्दछन्।

पर्वतमा जन्मिएका आचार्य सन् २००३ देखि गैरआवासीय नेपाली संघमा आबद्ध भएका थिए। आचार्य सन् २००७ देखि गैरआवासीय नेपाली संघमा निरन्तर सक्रिय छन्।