ओमानविरुद्धको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी

माघ २८ काठमाडाै । चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आयोजक ओमानसँगको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको छ। 

ओमानले दिएको १३६ रनको लक्ष्य नेपालले ३ बल बाँकी रहँदै ४ विकेटको क्षतिमा पूरा गरेको हो। 

नेपालको जितका लागि दीपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गर्दै सर्वाधिक रनको योगदान दिए। उनले ५३ बलमा अविजीत रहँदै ७३ रन बनाए। 

यस्तै, आरिफ शेखले २५, आशिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदीप ऐरी र शरद भषवाकरले समान ४–४ रनको योगदान दिए। 

नेपालविरुद्ध ओमानका कलिमुल्लाहले २ विकेट लिए भने खवार अलीले १ विकेट हात पारे। 

अल अमेरेत क्रिकेट मैदानमा टस जितेर नेपालले बलिङ रोजेको थियो। ब्याटिङ थालेको ओमानले नेपालविरुद्ध २० ओभरमा ६ विकेट गुमाएर १३५ रनको योगफल तयार पारेको थियो।  

ओमानका लागि मोहम्मद नदिमले अविजित ४३ रन बनाए। यस्तै,  जिसन मक्सुदले ३१ रनको योगदान गरे। ओमानका  जातिन्दर सिंहले १३, अयान खान ११ तथा कस्यप प्रजापतिले ११ रन बनाए। 

नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए। यस्तै, कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले समान १–१ विकेट लिए। 

आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ‘ए’ खेल्नुअघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो। सिरिजमा आयोजक ओमानसहित, नेपाल, आयरल्यान्ड र युएई सहभागी छन् ।