मन्त्री यादवलाई मानव अधिकार आयोगको आग्रह

माघ २० काठमाडाैं । राष्ट्रिय मानवअधिकार आयोगले जिम्मेवार पदमा रहेका व्यक्तिहरुले अभिव्यक्ति दिँदा मानव अधिकारको मूल्य मान्यतालाई आत्मसात् गर्दै सामाजिक सद्भाव, शान्ति सुरक्षा र अमनचैनलाई ख्याल गर्न आग्रह गरेको छ ।

आयोगमा आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई बोलाई सो आग्रह गरेको हो । आयोगले समाजमा शान्ति सुरक्षा खल्बलिने खालका अभिव्यक्ति भविष्यमा नदिन मन्त्री यादवलाई आग्रह गरेको छ ।

मन्त्री यादवले आफूले श्रद्धाञ्जलि सभामा अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगेको र भविष्यमा यस्ता अभिव्यक्ति नदोहोरिने प्रतिबद्धता व्यक्त गरिन् । उनले आफूले दिएको अभिव्यक्ति असन्तुलित भए पनि कसैप्रति लक्षित र पूर्वाग्रही नरहेको, हिंसा तथा मुठभेड गर्ने आफ्नो मनसाय नरहेको बताईन। मन्त्री यादवले यही माघ ५ गते समाजवादी युवा सङ्घले रौतहटको गौरमा आयोजना गरेका सभामा दिएको अभिव्यक्तिलाई लिएर सर्वत्र विरोध भएको थियो ।

आयोगका अध्यक्ष तपबहादुर मगरले मन्त्री जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले हिंसालाई बढावा दिने र सामाजिक सद्भावमा खलल पु¥याउने खालका उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति नदिन आग्रह गरे ।

उनले राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र हिंसारहित बनाउनुपर्ने र भविष्यमा त्यस प्रकारका अभिव्यक्ति नदोहो¥याउन मन्त्री यादवलाई निर्देशनसमेत दिए । अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक अधिकार भए पनि त्यो अनियन्त्रित र सीमाविहीन हुन नसक्ने, आफ्नो अधिकारको प्रयोग गर्दा अरुको मर्यादामा चोट् पुग्न सक्नेतर्फ सचेत रहनुपर्ने आयोगका अध्यक्ष तथा सदस्यहरुको आग्रह थियो ।