आज पनि मनोनयन दर्ता, उम्मेदवारको नामावली आजै प्रकाशन गरिने

बैशाख १२, काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि आज (सोमबार) पनि मनोनयन दर्ता हुँदै छ । मनोनयन दर्ता आइतबारदेखि सुरु भएको हो ।

आइतबार छुटेका दल तथा स्वतन्त्र व्यक्तिहरूले रित पुर्‍याएर आज मनोनयन दर्ता गर्न पाउनेछन् । आज दिउँसोसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

देशभरका ७५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्ररुपमा समेत मनोनयनपत्र दर्ता हुनेछ ।

७५३ मध्ये ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । यी सबै तहमा प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्ष र सदस्य पदका लागि मनोनयन हुनेछ ।

मनोनयन दर्ताको काम सकिएपछि आजै साँझ उम्मेदवारहरूको नामावली प्रकाशन गरिने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।