मेलम्चीको पानी पुनः वितरण सुरु फोटोफिचर

बैशाख ११, काठमाडौँ । मेलम्चीको पानी काठमाडौँ आइपुगेर आजैदेखि नियमित वितरण सुरु भएको छ ।

आज खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, बानेश्वर शाखाको कार्यालयमा चाबी (भल्भ) खोलेर पुनः वितरण सुरु गरेका हुन् ।

आज पाँच करोड लिटर पानी वितरण गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । पहिलो दिन महाङ्काल चौर र नयाँ बानेश्वर शाखाबाट पानी वितरण हुँदै छ । भोलिबाट थप पानी आउने र थप स्थानमा वितरण गरिने भएको छ ।

सो अवसरमा मन्त्री चौधरीले आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा गरेको प्रतिबद्धताका आधारमा पानी ल्याइएको बताए । उनका अनुसार अझै पनि कतिपय संरचना सम्पन्न हुन बाँकी भएकामा तत्कालका लागि पानी पथान्तरण गरिएको उनले बताए ।

गत वर्ष बाढीपहिराका कारण मुहानको माथिल्लो तटीय क्षेत्रमा पुगेको क्षतिका बारेमा दातृ निकाय एसियाली विकास बैङ्कले विस्तृत अध्ययन गरिरहेको उनले बताए ।