दक्षिण एसियामा सबैभन्दा खुसी देश नेपाल

चैत्र ५, काठमाडौँ । फिनल्यान्ड पुन एक पटक विश्वकै सबैभन्दा खुसी देश साबित भएको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश बनेको भएको हो । वर्ल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको हो ।

प्रतिव्यक्ति वास्तविक जिडिपी, सामाजिक समर्थन, स्वस्थ औसत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरू जस्ता विभिन्न तत्त्वहरूका आधारमा विश्व खुसी प्रतिवेदनले सामान्यतया १५० देशहरूलाई क्रमबद्ध गर्दछ ।

सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै, स्वीट्जरल्यान्ड चौथो स्थानमा छ भने नेदरल्यान्ड्स र लक्जमवर्ग क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन् । स्विडेन, नर्वे र इजरायल क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् भने र न्युजिल्यान्ड दशौँ स्थानमा छ ।

नेपाल सूचीको ८५ औँ स्थानमा छ । नेपाल दक्षिण एसियामा नै पहिलो स्थानमा छ । भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन । नेपालपछि बुलगेरिया र माल्दिम्भ छन् । सूचीमा बङ्गलादेश ९९ र पाकिस्तान १०३ औँ नम्बरमा छन् । श्रीलङ्का १२६औँ स्थानमा छ भने भारत १३६औँ स्थानमा छ ।

सूचीअनुसार अफगानिस्तान विश्वकै सबैभन्दा दुःखी देश बनेको छ । अफगानिस्तानपछि सूचीमा लेबनान र जिम्बाबे छन् । सूचीमा नेपालभन्दा तीन स्थानमाथि अर्थात् ८२ औँ नम्बरमा चीन छ भने युक्रेनमाथि हमला गरिरहेको रुस ७४ औँ स्थानमा छ ।