सरकारको निर्णय विपरीत खुल्ने विद्यालयलाई कारबाही गर्ने

माघ ७, काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारको निर्णय विपरीत खुल्ने विद्यालयहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

काठमाडौं महानगरपालिकाका वडा नं १५ र १८ का केही निजी विद्यालयहरु अटेर गरी खुलिरहेको गुनासो आएकोले तत्काल बन्द गर्न निर्देशन दिएको शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीले जानकारी दिए ।

कोरोना संक्रमणको तेस्रो लहर तीव्र रुपमा फैलन थालेपछि सीसीएमसीको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुष २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय विपरीत महानगरपालिका भित्रको केही विद्यालयहरु खुलिरहेको गुनासो आएकाले तत्काल बन्द गर्न निर्देशन दिएको यदि बन्द नगरेको पाइए कारबाही गर्ने उनले बताए ।