फोटोसहितको मतदाता नामावली दर्ता गराउन नेताबीच होडबाजी

खोटाङ । आगामी निर्वाचनलाई मध्यनजर गर्दै खोटाङमा आयोजना गरिएको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानका क्रममा पाँच हजार ८४६ नयाँ मतदाता थपिएका छन् । गत मङ्सिर–१७ गतेदेखि २६ गतेसम्म र मङ्सिर–२९ गतेदेखि पुस–९ गतेसम्म जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानका क्रममा दुई हजार ९६३ महिला र दुई हजार ८८३ पुरुष मतदाताको नाम दर्ता भएको हो ।

पहिलो चरणमा एक हजार ३०९ पुरुष र एक हजार ४३ जना महिला गरी दुई हजार ३५२ नयाँ मतदाता नामावली दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्रकुमार राईले जानकारी दिए । दोस्रो चरणमा महिला एक हजार ९२० जना र पुरुष एक हजार ५७४ गरी ३ हजार ४९४ नयाँ मतदाता थपिएका छन् । अभियानका क्रममा अन्य जिल्लाका सात जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पहिलो चरणमा चारजना र दोस्रो चरणमा तीनले मतदाता नामावली दर्ता गराएका हुन् ।

पहिलो चरणमा केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका, साकेला गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकाको केन्द्रमा पुगेर फोटोसहितको मतदाता नामावली सङ्कलन गरिएको थियो । दोस्रो चरणमा ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा फोटोसहितको मतदाता नामावली सङ्कलनको गरिएको हो ।

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै जिल्लाका अधिकांश स्थानीय बासिन्दा स्वतःस्फूर्त रूपमा फोटोसहितको मतदाता नामावली सङ्कलनमा जुटेका छन् । जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ता, सरोकारवाला निकायलगायत फोटोसहितको मतदाता नामावली दर्ता गराउन आह्वान गरेका छन् ।

फोटोसहितको मतदाता नामावली दर्ता गराउन जिल्लाका कतिपय नेताले स्थानीय बासिन्दालाई गाडी नै रिजर्भ गरेर जिल्ला प्रशासन तथा निर्वाचन कार्यालयमा ल्याउने क्रम जारी छ । नेताले स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षमा जीत हात पार्न कार्यकर्ता तथा स्थानीय बासिन्दालाई अहिलेदेखि नै संरक्षण गर्न थालेका छन् ।

एउटा पार्टीका नेताले एउटा गाउँको स्थानीय बासिन्दालाई गाडीमा लगेर गएको थाहा पाएपछि अर्का नेताले अर्को गाउँका स्थानीय बासिन्दालाई गाडीमै लगेर मतदाता नामावली दर्ता गराउने होडबाजी नै चलेको छ । नेताहरुको सक्रियताले आगामी निर्वाचनमा मतदाताको सङ्ख्या बढ्ने आकलन गरिएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा विसं २०७४ को निर्वाचनमा एक लाख १८ हजार ३६ जना मतदाता रहेका थिए । गत जेठसम्मको तथ्याङ्कअनुसार पछिल्लो चार वर्षको अवधिमा बढेर एक लाख ३४ हजार ९६ जना पुगेको र त्यस यताको विवरण आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा एवं सूचना अधिकारी राईले जानकारी दिए ।

रासस