बतासलाई नारायणहिटीभित्र रेष्टुरेन्ट सञ्चालन गर्न रोक्न मन्त्री आलेको निर्देशन

२० पुस, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नारायणहिटी दरबार संग्रहालय परिसरमा भइरहेको रेस्टुरेन्ट निर्माणको काम तत्काल रोक्न निर्देशन दिएर फेरि चर्चामा आएका छन् । 

बतास कम्पनीलाई नारायणहिटीभित्र रेष्टुरेन्ट खोल्न दिने तयारीको चौतर्फी विरोध भइरहेको बेला मन्त्री आलेले रेष्टुरेन्ट निर्माणको काम रोक्न निर्देशन दिएका हुन् । राम्रा नराम्रा कामबाट पटक पटक चर्चामा आउने गरेका आले यस पटक बतासलाई रेष्टुरेन्ट निर्माण गर्न दिने निर्णय रोकेर चर्चामा आएका हुन् । 

उनले यस निर्माणसम्वन्धी कागजात मन्त्रालयमा बुझाउन पनि निर्देशन दिएका छन् । मन्त्री आलेको मौखिक निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले बी. म्यानेजमेन्ट प्रालिलाई निर्माण कार्य रोक्न पत्र काटेको छ । 

समितिले सञ्चारमाध्यमहरूमा आएका समाचारका कारण विवाद भएकाले मन्त्रालयको निर्देशनअनुसार निर्माण कार्य रोक्न भनेको छ । समिति र कम्पनीबीच सम्झौता भई अगाडि बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चारमाध्यमहरूमा आएका समाचारका विवाद सिर्जना हुन गएकोले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेशबमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ भन्दै पत्रमा लेखिएको छ । 

उनले नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट निर्माणका लागि भएका सम्झौता, टेन्डर लगायतका निर्णयका कागजात झिकाएका छन् । तर समितिका प्रमुखले अपुरो कागजात मन्त्रालयमा बुझाएको र बाँकी कागजात पनि मगाइएको जनाइएको छ ।

समितिले नारायणहिटी दरबार संग्रहालयको १० रोपनी जग्गा बतास कम्पनीलाई रेस्टुरेन्ट सञ्चालन गर्न भाडामा दिएपछि कम्पनीले सो ठाउँमा स्थायी संरचना निर्माण सुरु गरेको थियो ।