डिला सङ्ग्रौलाको पुस्तक ‘नेपालीका सपना अधुरै’ विमोचन

१७ पुस, काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले लेखेको पुस्तक ‘नेपालीका सपना अधुरै’ सार्वजनिक भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमकाबीच पुस्तक विमोचन भएको हो । पुस्तकमा नेपालका दैनिक पत्रिका र मूलधारका अनलाइनहरूमा प्रकाशित लेखहरू राखिएको छ ।

पुस्तक विमोचन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेसले संविधानको व्यवस्था अनुसार महिला  प्रतिनिधित्व सुनिश्चित गरेको बताए ।  ‘हाम्रो पार्टीमा ३३ प्रतिशत  महिलालाई पार्टीको केन्द्रीय कार्यसमिती र तलका तहमा सुनिश्चिता भएको छ, अन्य समुदायको पनि पार्टी नेतृत्वमा प्रतिनिधित्व भएको छ’ उनले भने, ‘नेपालमा काङ्ग्रेसजस्तो समावेशी पार्टी अरु कुनै छैन ।”

काङ्ग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीभित्र र सदनमा नेता सङ्ग्रौलाले सक्रिय भूमिका खेल्ने गरेको भन्दै  प्रसंशा गरेका थिए ।