मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटाइयो

बैशाख २६, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा आवश्यक सामग्रीसहित सुरक्षाकर्मी र कर्मचारी खटाइएको छ ।

स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्रमा मङ्गलबार बेलुकीसम्म सामग्री पुग्ने गरी सुरक्षाकर्मी र कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालय मनाङका प्रमुख पुष्पराज शर्माले जानकारी दिए ।

जिल्लामा निर्वाचनका लागि आएको मतपत्र, मत पेटिकासहितको ६१ प्रकारका सामग्री निर्वाचन अधिकृतहरूलाई हस्तान्तरण गरी सुरक्षित तवरबाट मतदान केन्द्रमा पठाउन थालिएको उहाँले बताउनुभयो ।

जिल्लाका दुर्गम स्थानका मतदान केन्द्रमा खटाइएका कर्मचारीले मतदानका लागि मतपेटिका, परिचयपत्र र स्ट्याम्प लगायतका ६१ प्रकारका सामग्री प्रदान गर्दै केन्द्रमा पठाउन सुरु भएको शर्माले बताए । मनाङमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई सामग्रीसहित जिम्मेवारी प्रदान गर्दै मतदान केन्द्रमा पठाउन थालिएको हो ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदानस्थलमा मतदाता सङ्ख्याका आधारमा स्थानीय पालिकाका कर्मचारी, स्वयंसेवक गरी १४० जना खटाइएको शर्माले बताए । उनका अनुसार मुख्य निर्वाचन अधिृकतको कार्यालयबाट नियुक्तपत्र बुझेर आएका कर्मचारीलाई सामग्रीसहित मतदान केन्द्रमा पठाइएको छ ।

यस्तै जिल्लामा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तवरबाट मतदान लागि सुरक्षा व्यवस्था चुस्त बनाइएको र मतदानस्थलमा सोमबारदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

भयरहित तवरबाट मतदान गराउने प्रबन्ध मिलाइएकाले निर्धक्क साथ मतदानमा सहभागी भएर मतदान गर्न आचार्यले आग्रह गर्नुभयो । निर्वाचनको सम्पूर्ण सुरक्षा व्यवस्थाको जिम्मा नेपाल प्रहरीलाई दिइएको छ । म्यादी प्रहरी, सैनिक र सशस्त्र प्रहरी बलको सहयोगमा प्रहरीले निर्वाचनलाई सुरक्षित बनाउनेछ ।

मतदान केन्द्रमा म्यादीसहितको प्रहरी परिचालन गरिएको छ भने बाहिरी घेरामा सशस्त्र प्रहरी खटाइनेछ । मतदानस्थल नजिकै सेना परिचालन गरिने उनले बताए ।

मतदानस्थलको भौगोलिक अवस्था, अघिल्ला निर्वाचनको गतिविधि, मतदाता सङ्ख्या, स्थानीय नागरिकको अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मीको व्यवस्थापन गरिएको छ । मनाङका चार पालिकामा ६ हजार ४९६ मतदाताले २८ मतदान केन्द्रमा मतदान गर्नेछन् । रासस