आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

चैत्र १८, काठमाडौँ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडे जात्रा पर्व आज मनाइँदै छ । जात्राको अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा आँखा नदेख्ने घोडा दौडाएर घोडे जात्रा मनाउने परम्परा छ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो ।

पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडे जात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।