प्रधानमन्त्री देउवा आज दिल्ली जाँदै

चैत्र १८, काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै आज (शुक्रवार) दिउँसो भारतको औपचारिक भ्रमणमा जाँदै छन् । पाँचौपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो ।

प्रधानमन्त्री देउवा आज अपराह्न नेपाली टोलीको नेतृत्व गर्दै तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नेछन् । भ्रमण टोलीमा चार मन्त्रीसहित ५० सदस्य रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनायो । भ्रमण टोलीमा परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री लगायत रहने छन् ।

भारत बसाइको क्रममा प्रधानमन्त्री देउवाले द्विपक्षीय हित, सहयोग अभिवृद्धि लगायतका विषयमा भारतीय पक्षसँग छलफल गर्ने छन् । भारतसँग रासायनिक मलको सहज आपूर्ति, बिजुली आयात–निर्यात, सीमा विवाद लगायतका विषयमा छलफल गर्ने तयारी छ । यद्यपि परराष्ट्र मन्त्रालयले भ्रमणको एजेण्डा सार्वजनिक गरेको छैन ।

प्रधानमन्त्री देउवाले १९ गते प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सोही अवसरमा दुवै देशका प्रधानमन्त्रीले जनकपुर जयनगर रेल सेवाको संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ ।