प्रधानमन्त्री देउवाले गरे नयाँ खिम्ती सब स्टेसनको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको मन्थली नगरपालिका-१३ को साँखे (फुलासी) स्थित नयाँ खिम्ती (२२-१३२ के.भी. क्षमता) सबस्टेसन आज उद्घाटन गरेका छन् ।

सब स्टेसन स्वदेशी पुँजीमा निर्माण भएको मुलुककै ठुलो ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको मुख्य भाग हो । माथिल्लो तामाकोसी आयोजनाले नै निर्माणार्थ गरेको सब स्टेसन नेपालमा हालसम्म निर्माण र सञ्चालनमा रहेको ढल्केबरपछिको दोस्रो ठुलो सबस्टेशन हो ।

तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादित विद्युत् जोडिने नयाँ खिम्ती सब स्टेसनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने छ ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् ४७ किलो मिटर लामो २२० के.भी. डबल सर्किट प्रसारण लाइनबाट नयाँ खिम्ती सब स्टेसन जोडिएको छ ।

माथिल्लो तामाकोसी को अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२.४ मेगावाट क्षमताको लिखु चौथो र २४.२ मेगावाट क्षमताको लिखु खोला ‘ए’ बाट उत्पादित विद्युत् यही सब स्टेसनमा जोडिएको छ ।

त्यस्तै, नयाँ खिम्ती स्वस्टेसनमा जोडिएको विद्युत् ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट धनुषाको ढल्केवरस्थित ४००-२२०-१३२ केभी सब स्टेसनमा लगिएको छ ।