संवैधानिक पदाधिकारीको नियुक्ति विरूद्धका रिटको सुनुवाइ जारी

facebook sharing button
twitter sharing button
email sharing button

चैत ४ काठमाडौ‍‍‌‌ । संवैधानिक इजलासले अध्यादेश ल्याएर संवैधानिक परिषदसम्बन्धी कानून संशोधन र त्यसअनुसार भएका नियुक्तिविरूद्ध परेका रिटको सुनुवाइ थालेको छ।  

एक वर्षअघिदेखि परेका रिटको पहिलो सुनुवाइ आजदेखि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलासले गर्नेछ।  

अहिले यी रिटमाथिको सुनुवाइ सुरू भइसकेको छ।

यसअघि संवैधानिक परिषदको सदस्यका हैसियतले नियुक्तिकर्ता भएकाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले यी रिटमा सुनुवाइ गर्न नमिल्ने विवाद भएको थियो।

उनले यी रिटको सुनुवाइबाट अलग हुने मौखिक घोषणा गरे पनि संवैधानिक इजलासमा प्रधानन्यायाधीश हुनैपर्ने संवैधानिक व्यवस्था भएको भन्दै परेको अर्को रिटमाथि भदौमा आदेश गर्दै  न्यायाधीश हरि फुयाँलको एकल इजलासले यी रिटको सुनुवाइ रोक्न आदेश दिएका थिए। 

उक्त आदेश विवादित भएको थियो। 

केही समयअघि कामु प्रधानन्यायाधीश कार्कीले परिषदको अध्यादेश र नियुक्तिविरूद्ध परेका रिट संयुक्त इजलासबाट संवैधानिक इजलासमा पठाएका थिए। 

केपी ओली सरकारले  उपस्थितको बहुमत पदाधिकारीले निर्णय गर्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो। सोही अध्यादेश बमोजिम संवैधानिक निकायमा  पटक/पटक गरी ५२ पदाधिकारी नियुक्ति सिफारिस  गरेको थियो। 

अध्यादेश र नियुक्तिविरूद्ध अधिवक्ता ओमप्रकाश अर्याल लगायतले छुट्टाछुट्टै रिट दिएका थिए।

केपी ओली सरकारले परिषदको कानुन दुईपटक अध्यादेशमार्फत् संशोधन गरेर दुवै पटक नियुक्ति गरेका थिए। दुवै पटकका नियुक्तिविरूद्ध रिट परेका थिए। 

राणाले भने ती रिटमाथिको सुनुवाइ समेत प्रभावित गरेको आरोप लाग्दै आएको थियो।