काँग्रेसको १ महिने चुनावी अभियान आजबाट

फागुन २९, काठमाडौं ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ भन्ने नारासहित नेपाली काँग्रेसले आजदेखि १ महिने चुनावी अभियान आज १ बजे ७७ वटै जिल्लामा एकैसाथ उद्घाटन हुनेछ ।

जिल्लामा जिल्ला स्तरीय उद्घाटन सभामार्फत उद्घाटन हुने १ महिने अभियानलाई केन्द्रमा सभापति शेरबहादुर देउवाले शुभारम्भ गर्नेछन् ।
काँग्रेस प्रवक्ता डा.प्रकाश शरण महतका अनुसार अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू पुगिसकेका छन् ।

आज अभियानको उद्घाटन भएलगत्तै पालिका र वडाकेन्द्रीत कार्यक्रमरुले तीव्रता पाउनेछन् । ‘यो मुख्यतः जनताको घरघरमा पुग्ने अभियान हो । त्यसैले बढीभन्दा बढी कार्यक्रम वडा र टोलमा केन्द्रित गरेका छौँ । जनताका कुरा सुन्छौँ, हाम्रा कुरा भन्छौँ । काँग्रेसको अपरिहार्यताबारे जनतालाई बुझाउँछौँ’, प्रवक्ता महतको भनाई छ ।

अभियानका दौरान काँग्रेसले टोल समितिहरू गठनलाई तीव्रता दिनेछ भने आफ्नो नेतृत्वमा भएका कामहरूको प्रचार गर्नेछ । काङ्ग्रेसप्रति जनताको अपेक्षा बुझ्न टोल—टोलमा अन्तरक्रिया कार्यक्रमहरू हुने बताइएको छ । त्यस्तै काँग्रेसले वैशाख ३० गते हुने स्थानीय निर्वाचन लक्षित गरेर पहिलो पटक मतदाता बनेकाहरूलाई प्रशिक्षणसमेत दिनेछ

काँग्रेसले १ महिने अभियानका ८ घोषित उद्देश्यहरू तय गरेको छ । जसअन्तर्गत स्थानीय निर्वाचनका लागि माहोल बनाउने, काँग्रेस जिताउन अपिल गर्ने, काँग्रेस नेतृत्वको सरकारले गरेका राम्रा कामहरूको प्रचार गर्ने र नेकपा नेतृत्वको अघिल्लो सरकारका गलत कामको भण्डाफोर गर्ने लगायतका उद्देश्य रहेका छन् ।