मुख्य रजिष्टारलाई उच्च अदालत र तिलप्रसादलाई सर्वोच्चको न्यायाधीश नियुक्त

फागुन २६ काठमाडौँ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् । कायममुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्कीले न्यायपरिषद बैठकबाट श्रेष्ठलाई सर्वोच्चको न्यायाधीश बनाएका हुन् ।

यस्तै कार्कीले सर्वोच्च अदालतका मुख्य रजिष्टार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीश बनाएर बाहिर पठाएका छन् । यसअघि मुख्य रजिष्टार उच्च अदालतको मुख्य न्यायाधीश हुने गरेकोमा अहिले कुँवरलाई न्यायाधीश बनाएर पठाइएको सर्वोच्चका उच्च अधिकारीहरूले बताएका छन् ।

अघिल्ला मुख्य रजिष्टार नहकुल सुवेदी उच्च अदालतको मुख्य न्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीश भइसकेका छन् भने नृपध्वज निरौला पनि हाल पाटन उच्च अदालतको मुख्य न्यायाधीश छन् ।

बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौलालाई काज फिर्ता गरेर दिपायल पठाउने निर्णय गरेको छ ।