स्थानीय चुनावका लागि कांग्रेसले खटायो नेता

फागुन २५, काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह चुनाव केन्द्रित अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ।

केन्द्रीय सदस्यहरूलाई जिल्ला तोकेर प्रतिनिधिका रूपमा खटाइएको छ। केन्द्रीय प्रतिनिधिहरू फागुन २७ भित्र सम्बन्धित जिल्ला गइसक्नुपर्नेछ।

कांग्रेसले यही फागुन २९ देखि चैत २९ सम्म एक महिना ,घरघर जाऔँ, काँग्रेस जिताऔ,अभियान सञ्चालन गर्दैछ। त्यस लगत्तै वडा र पालिकाका उम्मेदवार तय गरेर दोस्रो चरणको घरदैलो अभियान हुनेछ।

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी अभियान प्रभावकारी बनाउन गाउँ गाउँमा जाँदा गठबन्धन दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई चित्त दुख्ने अभिव्यक्ति नदिन नेताहरूलाई निर्देशन दिएका छन्।

कांग्रेसले आठ उद्देश्यका लागि केन्द्रीय नेता गाउँ खटाएको छ। जसमा चुनावमा पार्टीका उम्मेदवार जिताउन मतदानको माहौल मिलाउनेदेखि एमसीसीबारेका भ्रम चिर्नेसम्म छन्।

०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदै छ। कांग्रेसले यसपालि विगतका चुनावभन्दा फरक ढङ्गले प्रचारप्रसार र कार्यकर्ता परिचालन गर्न खोजेको छ।

केन्द्रीय प्रतिनिधि जिल्लाका हरेक पालिकामा कम्तीमा एक पटक पुग्नुपर्नेछ। आफ्ना कुरा राख्नेभन्दा पनि जनताका कुरा धेरै सुन्न पनि कांग्रेसले प्रतिनिधिहरूलाई निर्देशन दिएको छ।