माओवादीमा अन्तरकलह : केन्द्रीय समितिको बैठक आज बस्दै

फागुन २०, काठमाडौं : एमसीसी अनुमोदनले पार्टीमा चर्केको विवादबीच माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुक्रबार (आज) बस्दैछ। महाधिवेशन र पार्टी निर्णयविपरीत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकलौटी एमसीसी अनुमोदनका पक्षमा निर्णय गराएको भन्दै  नारायणकाजी श्रेष्ठ समूह रुष्ट बनेको छ। रुष्ट पक्षलाई मिलाउनेभन्दा ‘पार्टी छोडेर गए हुन्छ’ भन्ने प्रचण्डको भनाइले आक्रोशित श्रेष्ठ समूह आन्तरिक छलफल पनि तीव्र बनाएको छ।

मन्त्रिपरिषद् गठनदेखि नै चित्त दुखाएका श्रेष्ठ एमसीसीका विपक्षमा  खुलेर पार्टी निर्णयविरुद्ध उभिएका थिए। उनी पक्षधर नेताहरूले संसद्को छलफलमै एमसीसी अनुमोदन गर्न नहुने धारणा राखेका थिए। प्रचण्डको एकल निर्णय सामू उनीहरूको केही चलेन। एमसीसी संसद्बाट अनुमोदन भयो। 

महाकाली सन्धी पारित गर्ने निर्णय ‘राष्ट्रघात’ भन्दै गौतम समूहले तत्कालीन एमाले विभाजन गरेको थियो। गौतम समूहको नेकपा मालेले चुृनावमा नराम्रो हार व्यहोरेपछि पुन: पार्टी एकता भएको थियो। पछिल्लो समय पनि एमालेबाट अलग भएका गौतम ‘पार्टीविहीन’ भएर बसेका छन्। ‘महाकाली सन्धीका बेला वामदेवले राष्ट्रघात भनेर एमालेको आधा केन्द्रीय कमिटी लिएर जानुभयो,’ प्रचण्डले भनेका थिए, ‘भोट आउने बेला जिरो हुनुभयो। कोही सेन्टिमेन्टमा आउन आवश्यक छैन।’  एमसीसीको विरोध गरेर जनताको सेन्टिमेन्ट आउने भए सबै जना नेमकिपाका प्रेम सुवालतिर जानुपर्ने जस्ता अभिव्यक्ति प्रचण्डले दिएपछि श्रेष्ठ समूह थप आक्रोशित बनेको थियो। 

अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलन गरेर श्रेष्ठलाई बाहिर नबोल्न पनि आग्रह गरेका छन्। प्रचण्डको भनाइबाट चित्त दुखाएका श्रेष्ठले नेक्रविक्रम चन्द विप्लवसँग पनि भेटघाट गरेका छन्। यसले पार्टी फुटाउनसम्मको अवस्था आउने देखेर प्रचण्ड उनलाई भेट्न दुईपटक गएका थिए। ‘पहिला राष्ट्रघात गर्ने, गाली गरेर पनि पठाउने, अनि गल्ती भो, एकता जोगाउनुपर्छ,’ भनेर भावनाको कुरा गर्नुको तुक हुँदैन,’ श्रेष्ठ समूहका एक नेताले भने। श्रेष्ठ निकट नेता स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अध्यक्ष प्रचण्डले श्रेष्ठकहाँ गएर ‘मिलेर जाउँ’ भन्ने प्रस्ताव गरेको बताए। उनले भने, ‘एमसीसी महाधिवेशनबाट संशोधनबिना पास नगर्ने निर्णय गर्यौं, तर यसको विपरीत अध्यक्षले संसद्बाट पास गराउनुभयो। यसमा पार्टीभित्र कार्यकर्ता असन्तुष्ट छन्, हामी पनि विपक्षमा छौं।’  

त्यस्तै, केन्द्रीय सदस्य जीवन गौतमले भने, ‘पछिल्लो समय पार्टी कम्युनिस्ट जस्तो छैन। अहिले त झन् राष्ट्रघात नै गरेको छ।’ सांसद अन्जना विशुंखेले २०५१ देखि क्रान्तिकारी र केन्दीय सत्ता पनि भएको अवस्थामा पार्टीलाई निरन्तर हाकेको नेताको अवमूल्यन अध्यक्षबाटै हुनु दुखद भएको बताइन्। ‘उहाँ क्रान्तिकारी सत्ता केन्द्रीय सत्ता आफूसँग नहुँदा पनि पार्टी चलाएको नेता हो। उहाँको सार्वजनिक रूपमा नै अध्यक्षबाट यस्तो कुरा आउँदा चित्त नदुख्ने कुरै भएन। अब समितिकै बैठकमा जाने कि नजाने अवस्थामा छौं।’ श्रेष्ठ समूहले महाधिवेशनबाट अध्यक्षबाहेकको पदाधिकारी पनि अहिलेसम्म चयन नगरेकामा पनि आपत्ति जनाउँदै आएको छ। केन्द्रीय समितिको बैठकमा स्पष्ट धारणा अध्यक्षबाट नआएमा पार्टीबाट अलगसम्म हुने रणनीति बनाएको छ। यो समूह २० भन्दा बढी केन्द्रीय सदस्य छन्। 

विप्लवको सक्रियता 

एमसीसीको विरोधमा नेक्रविक्रम चन्द ‘विप्लव’ अझै सक्रिय छन्। एमसीसीको विरोधमा रहेको सत्तारुढ दल, विपक्ष दलका नेताहरूसँग उनले  धमाधाम भेटघाट गरेर नयाँ मोर्चाबन्दी गरिरहेका छन्। विप्लवले नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, एमाले नेता भीम रावललगायत नेतासँग पनि विप्लवको भेटवार्ता भएको छ। 

सुरुआतदेखि नै एमसीसीको विरोध गर्दै आएको छ। त्यो दल नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेसँग पनि विप्लवले भेटेका छन्। उनले भेटेको नेतासँग एमसीसी विरोधी मोर्चादेखि पार्टी एकतासम्म प्रस्ताव गरेका छन्। विप्लवसहित  एमसीसी विरोधी देखिएका नेताले शुक्रबार विरोधसभालाई सम्बोधन गर्ने भएका छन । अन्नपुर्णपोष्टबाट