आज काँग्रेस पदाधिकारी बैठक बस्दै

माघ २५, काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय पदाधिकारीको बैठक मंगलबार दिउँसो बस्दैछ ।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा व्यस्त भएपछि उनीबाहेक केन्द्रीय समितिका पदाधिकारीको बैठक केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

सभापति देउवाले आगामी बिहीबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । त्यसअघि कार्यसम्पादन समितिको बैठकको तयारीका लागि मंगलबार पदाधिकारी बैठक बस्न लागेको हो

देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीका पदाधिकारीहरूसँग अनौपचारिक रुपमा छलफल गर्न लागेका हुन् ।

सहमहामन्त्री जीवन परियारले विहीबार बस्ने कार्यसम्पादन समितिको बैठकको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको जानकारी दिए ।

कार्यसम्पादन समिति बैठकमा म्याद समाप्त भएका भ्रातृ एवम् शुभेच्छुक संस्थाहरू र जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूका बारेमा छलफल गर्ने एजेन्डा छन् ।

सहमहामन्त्री परियारले त्यसबाहेक सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेकाले त्यसको तयारीका विषयमा समेत छलफल हुने बताए ।