ऐन संशोधन गरेर जेठमा स्थानीय तहको निर्वाचन

माघ १५, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले संविधानसँग बाझिएको ऐन संशोधन गर्दै आगामी जेठ महिनामा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ।

आज ४ बजेदेखि बसेको बैठकमा स्थानीय तहको निर्वाचन र कानुनी प्रावधानका बारेमा विस्तृतमा छलफल भएको थियो।

छलफलमा सहभागी सरकारका प्रवक्ता एवं सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार ऐनमा संशोधन गरेर आगामी जेठमा निर्वाचन गर्ने सहमति बैठकमा जुटेको छ। यद्यपि यसको अन्तिम निर्णय भने शीर्ष नेताहरुले छलफल गरेपछि टुंगो लाग्ने छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

गठबन्धन दलहरुले कानुनविदहरुसँग समेत परामर्श लिएपछि ऐनमा संशोधन गरेर जेठमा निर्वाचन गर्ने निश्कर्षमा पुगेको एक सहभागीले बताए।

सभामुख अग्नि सापकोटाले भोलि अपरान्ह १ बजेका लागि संसदको बैठक बोलाएका छन् भने राष्ट्रिय सभाको बैठक १७ गतेका लागि डाकिएको छ।