मन्त्री बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

माघ १३, सप्तरी । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सप्तरीबाट ज्ञापन पत्र पठाइएको छ ।

मन्त्रीको गृह जिल्ला सप्तरी निवासी रञ्जित कर्णले बिहीबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पठाएका हुन् ।

मन्त्री यादवले हालै रौतहटमा दिएको अभिव्यक्ति मानव अधिकारको दृष्टिकोणले अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी मान्यताको खिल्ली उडाएको ज्ञापनपत्रमा उल्लेख छ । मन्त्रीको अभिव्यक्तिलाई नेपालको संविधानले अपराधी देख्ने भएको हुँदा तत्काल मन्त्री पदबाट बर्खास्त गर्दै कानुन बमोजिम कार्वाहीको प्रकृया अगाडि बढाउन अनुरोध गरिएको छ ।

५ माघमा रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने धम्की दिएकी थिइन् ।