मल कारखाना नेपाल मै खोल्न प्रधानमन्त्रीकोआग्रह

माघ ११, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरुलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गरेका हुन् । उनले उद्योगी, व्यवसायीहरुले मल कारखाना स्थापना गरेमा सरकार सहयोग गर्न तयार रहेको पनि बताएका छन् । प्रधानमन्त्री देउवाले अफगानिस्तानमा खाद्यान्न संकटको बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगानी नागरिकहरुलाई सहयोग गरेकोमा सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन् ।

उनले भने । ‘अफगानिस्तानमा अत्यन्तै खाद्य शंकट छ । त्यसमा यूएनएसमेतले अफगानीहरु भोकै मर्न थाले मानवीय सहायता सहयोग चाहियो भनेर सहयोग माग्दा नेपालका सबै उद्योगपति सबैले मानवीय संकटमा खाद्यान्न पु¥याउने जस्तो कुरामा मद्दत गर्नुभयो, सबैलाई हार्दिक धन्यवाद । अघि एकजना मित्रले भन्नुभयो, तीन तीन महिनामा भनेपनि भेटघाट हुनुपर्छ सरकार र प्राइभेट क्षेत्रहरुसँग । व्यापार, उद्योग सबै क्षेत्रहरुसँग, त्यो अत्यन्त राम्रो कुरा हो’

उनले भने , हामी प्राइभेट एयरलाइन्स मात्रै होइन, उद्योगधन्दाहरु जुनसुकैका पनि सरकार सहयोग गर्न चाहन्छ । कतिपय सरकारलाई प्रायोरेटिजहरु हुन्छन्, जस्तो अहिले कुरा आएको छ, फर्टिलाइजर प्रायोरेटीको कुरा भएन, पाइएकै छैन के गर्नु ? यहाँ त्यो उद्योग खोल्नुस् । यस्ता कति कुराहरुमा सहयोग गर्नुपर्ने उद्योग खोल्नुपर्ने कुरा छ । त्यसैले तपाईहरुलाई त्यो सहयोग दिन हामी तयार छौं ।

उनले अहिले देश कोरोना भाइरसबाट आक्रान्त बनेको भन्दै सबैले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरेर कोरोनालाई परास्त गर्नुपर्ने बताएका छन् । उनले कोरोनाबिरुद्धको खोप सरकारको पहिलो प्राथमिकता भएकोले सबैले लगाएर कोरोनाबाट सुरक्षित हुन समेत आग्रह गरे ।