म्याग्दीमा हिउँले पैदलमार्ग अवरुद्ध

म्याग्दी । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने पैदलमार्ग अवरुद्ध भएको छ ।

लुलाङ हुँदै गुर्जा जोड्ने एक मात्र पैदलमार्ग हिउँले पुरिएपछि २६० घरधुरीको बसोबास रहेको पुरै वडा यातायात सम्पर्क विच्छेद भएको हो । 

वडाध्यक्ष झकबहादुर छन्त्यालले बाक्लो हिउँ जमेर पैदलमार्ग अवरुद्ध बनेपछि मानिस, घोडाखच्चर र गाइर्बस्तुको आवतजावत बन्द भएको बताए ।

‘पुस १३ गते परेको हिउँ पग्लिन नपाउँदै पुसको अन्तिम साता र यसै हप्तादेखि निरन्तर परेको हिउँ जमेर पैदलमार्ग अवरुद्ध भएको हो,” उनले भने ‘खाद्यान्नलगायत दैनिक उपभोग्य बस्तु र निर्माण सामग्री ढुवानी ठप्प भएको छ ।’

गम्भीर प्रकृतिका बिरामीलाई अस्पताल पुर्याउन हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था छ । वडा, गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले गुर्जामा सञ्चालन गरेका योजना कार्यान्वयन प्रभावित भएको छ । गुर्जाको जनकल्याण माविमा सरकारले कोरोना फैलिएपछि बन्द गर्ने निर्णय गर्नुअघिनै हिमपातका कारण पठनपाठन रोकिएको थियो ।

लुलाङदेखि गुर्जा पुग्न पुरै दिन जङ्गल, भीर र खोल्साको पैदलयात्रा गर्नुपर्छ । सडक नभएको गुर्जा पुग्न समुद्री सतहदेखि तीन हजार २०० मिटर उचाइको देउरालीडाँडा पार गर्नुपर्छ । देउराली आसपासका क्षेत्रमा तीन फिट भन्दा बाक्लो हिउँ जमेको छ ।

यसैबीच निरन्तरको हिमपातका कारण गुर्जाबासीको दैनिकी प्रभावित भएको छ । घरभित्रै आयो तापेर बसेका छन् । घरबाहिरको काम गर्न सकेका छैनन् । गोठमा बाँधिएका गाईबस्तु र भेडाबाख्रालाई सुख्खा घाँस, पराल खुवाएर राखेका छन् । चरनका लागि जङ्गलमा लैजान सकेका छैनन् ।

खोला, ताल, पधेरा र धारामा पानी जमेको छ । गत पुस १३ गतेको हिउँमा पुरिएर गुर्जामा एक जनाको मृत्यु भएको थियो । हिउँले गोठ भत्किँदा पुरिएर बेपत्ता भएका ५० बर्षीय रामबहादुर छन्त्यालको दश दिनपछि शव भेटिएको थियो । रासस