माघ ५ गतेदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनलाई प्रवेशमा रोक

माघ ४,काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बुधबारदेखि पशुपतिनाथ मन्दिरमा पूजाआजाका लागि भक्तजनलाई प्रवेशमा रोक लगाएको छ। विश्वव्यापी महामारी ओमिक्रोन बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले मन्दिरमा नित्य पूजा मात्र गर्ने गरी आदेश जारी गरेपछि कोषले पूजामा रोक लगाएको हो।

माघ ४ गते राति १२ बजेदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालयको आदेश भएबमोजिम पशुपतिनाथ मन्दिरमा भक्तजनलाई पूजाआजामा रोक लगाइएको छ ।

प्रशासनबाट जारी विज्ञप्तिको बुँदा नम्बर ६ बमोजिम मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर नित्य पूजा, ध्यान र प्रार्थना मात्र गराउने भनिएको छ। प्रशासनले माघ मसान्तसम्मका लागि रोक लगाउने जानकारी दिएको छ। माघ ५ गतेदेखि मसान्तसम्म पाशुपत क्षेत्रका सबै मठमन्दिरमा सम्पूर्ण क्रियाकलाप बन्द हुनेछन् ।