सहकारी विकास मन्त्री झाँक्रीको सय दिन

माघ ३, काठमाडौं । सहकारी विकास मन्त्री रामकुमारी झाँक्रीले सय दिने प्रगति विवरण सार्वजनिक गरेकी छन् ।आज (सोमबार) सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफूले सयमा दिनमा गरेका कामहरुको ३७ बुँदामा जानकारी दिइन् । उनले सय दिनमा भए गरेका कामबारे जानकारी दिँदै शुरु गरिएको कामहरुले समेत गति लिएको बताइन ।

उनले नेतृत्व गरेको मन्त्रालयको चालु आर्थिक वर्षको कूल बजेट ३० अर्ब ८४ करोडमध्ये चालुतर्फ विनियोजित १ अर्ब ९४ करोड रुपैयाँमा ६९ करोड (३५ प्रतिशत) र पुँजीगततर्फ विनियोजित २८ अर्ब ९० करोड रुपैयाँमा ५ अर्ब ८ करोड (१७ प्रतिशत) खर्च भएको छ ।मन्त्रालयको समग्र प्रगति १८.९१ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

उनले सार्वजनिक गरेको सूचीमा प्रतिनिधिमूलक कामहरुमा बागमती किनारामा अनधिकृत रुपमा रहेका २७ घरटहरा भत्काइएकोदेखि सहरी विकासमा धेरै कामहरु गरेको उल्लेख गरेकी छन् ।

त्यस्तै नीतिगततर्फ झाँक्रीले पूर्वाधार तथा सेवा सुविधायुक्त, व्यवस्थित, सफा र सुन्दरशहर तथा बस्तीहरू विकास गर्ने दीर्घकालीन सोच अनुरुप यस मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभाग, काठमाण्डौं उपत्यका विकास प्राधिकरण लगायतका संस्थाहरु मार्फत कामहरु राम्रो भएको उल्लेख गरेकी छन् ।

यसैगरी अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति, नगर विकास कोष, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति र राष्ट्रिय आवास कम्पनी लिमिटेडसमेत गरी छवटा निकायहरु मार्फत मन्त्रालयले शहरी विकास, भवन निर्माण र आवास व्यवस्थाका क्षेत्रमा कार्यहरू गर्दै आएको बताइन् ।

‘यस अवधिमा रुपान्तरणकारी, क्रमागत र नयाँ शहरी पूर्वाधार निर्माणका परियोजनाहरूको कार्यान्वयनले गति लिएको छ’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।