प्रधानमन्त्रीद्वारा स्वास्थ्यका मापदण्ड पालना गरी माघी मनाउन आग्रह

पुस ३०, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक वर्ष माघ १ गते थारु, मगरलगायत विभिन्न समुदायले मनाउने माघी तथा माघे सङ्क्रान्ति पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख, शान्ति, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन।

उनले शुभकामना सन्देशमार्फत कोभिड–१९ महामारी नियन्त्रणका लागि अवलम्बन गरेका हालसम्मका प्रयास प्रभावकारी देखिए पनि कोभिड–१९ को नयाँ स्वरूपले अझै जोखिम बढाएकाले सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व मनाउन आग्रह गरेका छन।

थारु समुदायमा माघी र अन्य समुदायमा माघे सङ्क्रान्ति नामले चिनिने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा मनाइँदै आएको छ। हाम्रा संस्कृति र संस्कारमा आफ्ना विशेषता रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले विविधताभित्र एकता र सामाजिक सदभाव हाम्रा सांस्कृतिक विशेषताका उदाहरण भएको बताएका छन।